Epost Nepal

सहरमा एक दिन

* हरिहर खनाल
मनसुन भर्खरै निख्रन थालेको थियो, तर आकाश राम्ररी खुलेको थिएन । कनिके पानी बिरबिर परिरहेको थियो । बिहानी ढल्कन थालेको थियो । खाना खाईवरी बरन्डामा बसेर पत्रिका हेर्न थालेको थिएँ । पेटमा खाना परेपछि, एक आपसमा उछिनपाछिन गर्दै तलाउमा हुत्त्याएको बल्छीको आहारतिर ओइरिएका माछा झैँ विविध अवयवसित जोडिएका शरीरभित्रका सेलहरू पनि आमाशय तिरै केन्द्रित भएर हो कि कुन्नि ? आलस्यले छपक्क छोप्यो । आँखा लोलाउन थाले । निद्राले झप्प पार्‍यो । अलिअलि उङ्दै, अनि घरीघरी लोलाएका आँखा पत्रिकातिर डुलाउँदै थिएँ, हातको पत्रिका भुईँमा खस्नै लाग्दा मोबाइलको घण्टी बज्यो र म झसङ्ङ हुँदै बिउँझिएँ । मोबाइल उठाएँ, रविको रहेछ, । माझी औँलाले स्क्रिनमा छोएँ र दाहिनेतिर धकेलेँ । अनि देब्रे कानमा टाँसेर भनेँ, ‘अँ रवि भन, के छ हालखबर ?’
‘तिमीले लेखिसक्यौ ?’ बिना भूमिका रविले सोध्यो । रवि मेरो बाल सखा हो । साहित्यिक पत्रिका निकाल्न तम्सन्छ अझै, मजस्तै । केही दिन अगाडि एउटा रचना मागेको थियो, पत्रिकाको लागि । वचन हार्न नसकेर हुन्छ भनिदिएको थिएँ । अहिले परेँ फसादमा । के उत्तर दिने होला भन्ने कुराले एक छिन त म अलमलमा परेँ । तैपनि, कुरा मिलाएर भनेँ, ‘सुन साथी, मलाई अब चार दिनको समय देऊ, म तिम्रो इमेलमा राखिदिन्छु ।’ नाइँ भन्न नसकेर मात्र यस्तो उत्तर दिएको थिएँ मैले ।
‘ठिक छ । सुन रामचन्द्र । चार दिन होइन, तिमीलाई एक हप्ताको समय भयो, तर जसरी पनि एउटा रचना तयार गरेर पठाऊ, मैले दिएको शीर्षकमा । पत्रिका चलाउन साह्रै गाह्रो भएको छ आजकल । गतिला रचना नै पाइँदैन । के भएको होला यो ?’ रविले लामै भाषण दियो ।
‘तिमी ढुक्क भए हुन्छ । म पठाउँछु । तोकिएकै समयमा ।’ उसलाई आश्वस्त पार्न खोज्दै उत्तर दिएँ ।
पठाउँछु त भनेँ, तर अब के उपाय निकाल्ने होला ? लेखिराखेको अप्रकाशित कुनै रचना जगेडा थिएन । चाहिने बित्तिकै तयार गर्न सक्ने कुरा पनि भएन । देश, काल, परिवेश, पात्र, घटना सबैको सुन्दर समायोजन भयो भने न जन्मन्छ सिर्जना, आकार ग्रहण गर्छ रचनाले, तर यति बेला मसित विगतको मेरो सक्रिय जीवनका सिर्जनात्मक कार्यका संस्मरणहरू मात्र बाँकी थिए । ती पनि अलिखित रूपमा ।
म परेँ फन्दामा । पठाउँछु त भनेँ, तर अब के गर्ने होला भन्ने चिन्ताले मलाई सताउन थाल्यो । भित्र पसेँ र पुराना फाइलहरू पल्टाउन थालेँ । करिब बिस वर्ष पुरानो एउटा लेख फेला पर्‍यो । ढुङ्गा खोज्दा देउता मिलेजस्तो लाग्यो । मनै उज्यालो भयो । यसैलाई थोरै परिमार्जन गर्छु र एउटा उपयुक्त शीर्षक राखेर पठाउँछु । आपत्कालीन समयमा काम चलाउनका लागि सबै लेखकहरूले गर्ने यही हो क्यारे । मनमनै भनेँ । तर कसरी पठाउने ? मसिना अक्षरमा सात आठ पाना छन् । टाइप गराउनु पर्छ । आफ्नो ढङ्ग छैन । आँखा कमजोर छन् । हात छिटो चल्दैन । एउटा टाइपिङ इन्स्टिच्युटमा गएर टाइप गराउनु पर्ला । सहरमा गएर टाइपिस्टलाई भेट्छु । उचित पारिश्रमिक दिएपछि टाइप गरिदिन्छन् । पेन ड्राइभमा ल्याएर सम्पादन चाहिँ बिस्तारै आफैँ गर्नुपर्ला । यस्तै ठान्यो मनले । त्यसपछि पुरानो फाइलमा फेला परेको त्यो आलेखलाई पट्याएर गोजीमा राखेँ र सहरको बाटो समातेँ ।
माइक्रो होलो होलै थियो तर ज्येष्ठ नागरिकका लागि छुट्टाइएको सिटमा त्यस्तै पच्चीस जतिकी युवती अढाई वर्ष जतिकी छोरीलाई काखमा च्यापेर बसिरहेकी थिई र उसको देब्रेतिर त्यस्तै बाइसकी जस्तै देखिने भर्खरै फक्रेको गुलाफको फूल जस्ती अर्की युवती थिई । टाउको निहुराउँदै म भित्र पसेँ । जानेवित्तिकै मेरा आँखा त्यही महिलाका आँखासित ठोक्किन पुगे । किञ्चित असमञ्जसेमा परेकी जस्ती देखिएकी उसले मेरो अनुहारमा आँखा अड्याएर भनी, ‘बुबा, बस्नोस्, म यता बसुँला ।’ सिटबाट उठ्न खोजेजस्तो गरेर उसले भनी । निकै सुझबुझ भएकी भद्र महिला रहिछे ऊ मैले मनमनै यस्तै ठानेँ ।
‘ठिक छ, तपाई बस्नुस् । म कतै मिलेर बसुँला । यताउता आँखा घुमाउँदै मैले भनेँ । देखेँ, चालक पछाडिको उल्टो सिट एउटा खाली रहेछ ।
म अलिकति ठेलिँदै कुनासम्म पुगे र आसन बिसाएँ । तेस्रो स्टपपछि म ओर्लिएँ र नेपाल यातायात समातेँ ।
बसका सबै सिट ठिक्क भरिएका थिए । कुनै पनि खाली थिएन र कोही पनि उभिएको थिएन । देब्रेतिरको दोस्रो लङमा ‘ज्येष्ठ नागरिक’ लेखिएको थियो । तर त्यस सिटमा सेतो कमिज, कालो पाइन्ट, काला जुत्ता र कालै चस्मा लगाएको, कालो कपालवाला, यस्तै पैँतिस–छत्तीस जतिको एउटा खाइलाग्दो अधबैँसे युवक काखमा कालै झोला राखेर, मानौँ भित्रतिरको वातावरणसित ऊ बिलकुलै अनभिज्ञ छ जस्तो भावमा, सबै कुरा देखिरहेको भए पनि केही नदेखेझैँ गरेर, कालै मोबाइल हातमा लिएर खेलाइरहेको थियो । म त्यही नजिक गएर सिटको टाउको समातेर उभिएँ । ए भाइ, उठ्नोस् त । यो ज्येष्ठ नागरिकको सिट हो । एक मन त यसो भनूँ जस्तो लागेको थियो, तर अर्को मनले त्यसो गर्न मानेन । यति त सामान्य विवेक भएको मानिस हो भने उसले पनि बुझ्नुपर्छ नि । भनिरहनुपर्ने कुरा हो र यो ? मैले मनमनै भनेँ । ठिक त्यति नै बेला दाहिनेतिरको लङमा छेउको सिटमा बसेकी युवतीका आँखासित मेरा आँखा जुध्न पुगे । हल्का हरियो रङको कुर्तामा सेतो किनारा, सेतो सुरुवालमाथि कुर्ताकै रङका छप्प छप्प परेका बुट्टा र वसन्त ऋतुको फूलबारीमा फक्रन लागेको गुलाफको कोपिलाजस्तो जोबन, हेर्दैमा हिसी परेकी त्यस युवतीको संस्कार पनि सलाम गर्न लायकको रहेछ भन्ने ठानेँ मैले । शिष्टतापूर्वक आग्रह गर्दै उठेर ठाउँ छोडिदिएपछि नाइँ भन्ने समय पनि मिलेन मलाई । ‘थ्याङ्क यु ।’ ऊतिर हेरेर मैले शिष्टतापूर्वक भनेँ र उसले छोडिदिएको सिटमा बसेँ ।
‘यति सामग्री टाइप गरिदिनु पर्याे । म तपाईँलाई उचित पारिश्रमिक उपलब्ध गराउने छु । रचनाको खाम टाइपिस्टको हातमा थमाउँदै मैले भनेँ ।
‘भइहाल्छ नि सर । म भोलि तिरै सकेर सरको इमेलमा राखिदिन्छु ।’ प्रेमपूर्वक खाम हातमा लिँदै अनुहारमा हल्का मुस्कान छरेर टाइपिस्टले उत्तर दियो ।
फर्कँदा पनि बसमा चढिसकेपछि ज्येष्ठ नागरिकलाई छुट्ट्याएको देब्रे तिरको दोस्रो सिटमा देखेँ, सेतो कमिज र कालो पाइन्ट लगाएको कालो कपालवाला, यस्तै बिस एक्काइसको लोर्के तन्देरी बसिरहेको थियो । बस खचाखच थिएन । बिलकुलै हल्का । सबै सिट भरिएका, तर कोही पनि नउभिएका । देब्रेतिरको ज्येष्ठ नागरिक लेखिए मुनिको सिटमा बसिरहेको लोर्के ठिटाका आँखामा आँखा अड्याएर मैले भनेँ, भाइ, यो ज्येष्ठ नागरिकको सिट हो, उठ । त्यस ठिटाले टाउको तन्काएर माथितिर हेर्‍यो र ‘ज्येष्ठ’ शब्दमा परेका किरमिर धर्कातिर हेर्दै भन्यो, ‘तर त्यहाँ त केरेको छ त्यसका कुरा सुनेर मलाई जङ चल्यो । पढ्न आउँछ कि आउँदैन ? दह फसल गरिरहने कि खुरुक्क उठ्ने ?’ म कड्किएँ ।
‘बुढा त बबाल रहेछन् बा केटाले यस्तै ठान्यो होला भन्ने लाग्यो मलाई । ऊ उठ्यो र ‘ल ल बस्नोस्’ भन्दै ठाउँ छोड्यो । सिटमा बसेपछि झ्यालबाट बाहिरतिर हेरेँ, देखेँ बाहिर कतै कतै क्षितिज किनारातिर बादलका टुक्रा देखिए पनि आकाश उघ्रिएको थियो । बस बेतोडले घुइँकिन थालेपछि घामका न्याना किरणहरूले मुसार्न थालेको मेरो शरीर झम्म पर्न थाल्यो र मेरा आँखा लोलाए । म एकै छिनमा झँकाए । निदाएको बेलाको सन्सार कस्तो हुन्छ कुन्नि ?

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search